गल्कोटमा अन्तराष्ट्रीय मुर्तीकला कार्यशाला र हाम्रो भुमिका

2020, Feb 12

गल्कोटमा अन्तराष्ट्रीय मुर्तीकला कार्यशाला र हाम्रो भुमिका

  Durga khatri

गल्कोटमा अन्तराष्ट्रीय मुर्तीकला कार्यशाला र हाम्रो भुमिका : 

नेपालको मानचित्रमा झट्ट हेर्दा नेपालकै नक्सा जस्तै आकृति देखिने एकमात्र ज़िल्लाको नाम बाग्लुङ हो । सोही बाग्लुङ ज़िल्लाको केन्द्रबिन्दु गल्कोट नगरपालिका ५ को टेउवामा आगामी फागुन ५ देखी २१ गतेसम्म ११ राष्ट्रका १५ जना प्रसिद्ध मुर्तीकारहरुले १५ दिनसम्म बसेर आ-आफ्नो सिप, कला र कौशलको भरपुर प्रयोग गर्दै मुर्ती बनाउने छन । खासमा मुर्तीकला ललितकलाका विभिन्न विधामध्येको असाध्यै गाह्रो, निकै समय लिने, धेरै जोखिम र खर्चिलो विधा हो । 
पछिल्लो समयमा गल्कोटबाट बिशिष्ट ज्ञान,सिप,क्षमता र दक्षता भएका गल्कोटे युवाहरुको गल्कोटमा केही गर्नुपर्छ भन्ने सोचको बिकाश भैरहेको छ । जसकै उपज यो मुर्तीकला कार्यशाला गल्कोटमा सम्भव भएको हो ।
यो अन्तर्राष्ट्रीय स्तरको मुर्तीकला कार्यशालाले समग्र गल्कोटको पर्यटन बिकाशमा दुरगामी सकारात्मक प्रभाव पार्ने कुरामा कसैको पनि दुईमत छैन। अहिले तत्कालको लागी गल्कोट कला प्रतिष्ठान र यस कार्यशालाका योजनाकार एवं कार्यशाला संयोजक प्राज्ञ ओम खत्रीले मूर्तिकलामार्फत गल्कोटको बिकाशका लागी जुन योगदान गर्नुभएको छ यसका लागी हामी अन्य क्षेत्रमा लागेका हरेक गल्कोटेहरुले यसलाई सफल पार्न सक्दो योगदान गर्नुपर्ने टडकारो आवस्यकता देखिन्छ । मुर्तीकला कार्यशालाबाट गल्कोट क्षेत्रले तत्काल र भबिष्यमा लिन सक्ने प्रतक्ष्य लाभलाई बुंदागत रुपमा प्रस्तुत गर्न चाहन्छु । 
◉कार्यशालामा नेपाल सहित अन्य १० देशका कलाकारले १५ दिनसम्म गल्कोटमा बसेर यहाँ मूर्त तथा अमूर्त मूर्ति सिर्जना गर्नेछन जसमा विभिन्न देशका कला, संस्कृति, वर्तमान अवस्था, जीवनशैली आदि झल्किएका हुनेछन् । स्थानीय ३ जना खुल्ला ह्दय भएका महान दानबीरहरुले २३ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको जग्गामा बन्ने सबै मूर्तिहरू यही जग्गा भित्र एक खुला संग्रहालयको रूपमा रहने भएकोले आन्तरिक र बाह्य मुर्तीकलाप्रेमीहरुका लागी पनि बिशेष परिचित स्थलका रुपमा बिकाश हुनेछ । 
◉ कलाका बिभिन्न बिधाहरु मध्ये मूर्तिकला विधामै लाग्छु भनी अध्ययन गर्ने विद्यार्थीहरुका लागी मूर्ति बनाउने शैली प्रतक्ष्य अवलोकन गर्ने महत्वपूर्ण स्थलका रुपमा बिकाश गर्न सकिन्छ ।
◉ बिश्वब्यापीकरणको प्रभाबले पनि अब गल्कोट र समग्र नेपालको बिकाशका लागी धेरै समय पर्खिनुपर्ने अवस्था छैन । जसरी बिकसित देश जापानले एउटा उच्च पहाड़ी भुभाग हाकोनेलाई सड़क यातायात, रेलवे, केबलकार र रोपवेको समुचित ब्यवस्थापन गर्दै प्राकृतिक सौन्दर्यलाई नबिगारी थुप्रै स्वदेशी र बिदेशीहरुलाई हाकोने क्षेत्रमा आकर्षण गरेको छ त्यसरी नै कालान्तरमा यो मुर्तीकला कार्यशालाले गल्कोटलाई जापानको हाकोने मोडेलबाट बिकाश गर्ने सक्ने आधारस्तंभ बन्न सक्ने देखिन्छ । 
◉पहाडी आकर्षक भू–स्थलले सिँगारिएको घुम्टे–गलकोट क्षेत्र देशको नमुना गन्तव्यस्थल बन्न सक्छ ।भन्नुको मतलब पर्यटन आकर्षणको एउटा पोईन्टका रुपमा गल्कोट टेउवा बन्न सक्छ  । किनकी गल्कोट नेपालकै प्रसिद्ध पर्यटकिय नगरी पोखराबाट ११७ किलोमीटर टाढा रहेको यो क्षेत्र भौगोलिक, सांस्कृतिक, जैविक र धार्मिक महत्त्वका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यसको पर्यटकीय आकर्षण भनेकै घुम्टे पहाड हो जुन समुद्र सतहदेखि ३१२० मिटर उचाइमा अवस्थित छ । यसको आधार क्षेत्र हालको मुर्तीकला कार्यशाला स्थल बन्न सक्छ । 
◉ स्थानियहरु माझ प्रसिद्ध घुम्टे टापु र मुर्तीकला कार्यशाला स्थललाई केवलकार परियोजना बाट जोड़िदा बन्ने अर्को महत्वपुर्ण आकर्षण माथी उल्लेखित जापानको हाकोने क्षेत्र पर्यटन बिकाश मोडेलको जस्तै अर्को निर्बिकल्प आधार बन्न सक्छ । यस परियोजना कार्यान्वयन ल्याईदा स्थानीयहरुलाई नै थुप्रै लगानी र रोज़गारी का आकर्षणहरु सिर्जना हुन सक्छन । 
◉ मध्येपहाडी पुष्पलाल लोकमार्गबाट हटिया हरिचौर कौलेनी सर्दाखेत हुदै टेउवा सम्म पुग्ने सड़क यातायातको स्तरबृद्दीले यस क्षेत्रको स्थानिय उत्पादन र सेवामुखी नयाँ उघ्घमीका लागी थप अवसरको सिर्जना हुनेछन । 
◉बैदेशिक रोज़गार, बढ़्दो बसाईसराई र शहरकेन्द्रीत बर्तमान गल्कोटको अवस्थामा अबको १/२ पुस्तापछि आमुल परिवर्तन आउनेछ । ब्याक टु गल्कोट र होलिडे ईन गल्कोट जस्ता ट्रेण्डहरुको बिकाश भई यस क्षेत्रमा होटल रिसोर्ट र होमस्टे ब्यवशायले राम्रो रोज़गारी र आयआर्जनमा बिकाश हुनेछ ।
◉ पर्यटकिय क्षेत्र गल्कोटको समग्र गुरुयोजना तयार पारी घुम्टेलेकका प्राकृतिक बनस्पतीलाई ब्यवशायिक बिकाश गर्न सकिन्छ । यसका साथै पाण्डबखानी, घुम्टे सिद्धेश्वर गुफा, राम्चे ओढार, गोठथरी, भिमसेनलौरी, दमाहा ढुंगा, शालिग्राम पत्थर, गलकोट दरबार, हरिचौर बजार, गाईघाटको झरना, दरमखोला, मजुवाफाँट, भुजुङ्गे स्लेटखानी, कालीलेक, निलुवा, गल्कोट कोटमैदान लगायतको गुरुयोजना मार्फ़त कालान्तरना गल्कोटलाई आन्तरिक र बाह्य पर्यटकका लागी नयाँ गन्तब्य बनाउन सकिन्छ । 

माथी उल्लेखित सबै प्रकारका परियोजना संचालन गरिदा पहिलो अवसर स्थानियबासी लाई नै रहने हुदा अहिले बन्दै गरिरहेका बिकाशका हरेक गतिविधिमा देशबिदेशमा रहनुहुने गल्कोटप्रेमीबाट आर्थिक, नैतिक, भौतिक प्रतक्ष्य साथ सहयोग र समर्थन जरुरी छ । आउनुहोस हातेमालो गरी अगाडी बढौ ।

More Blogs