गलकोट अन्तरास्ट्रिय मूर्तिकला कार्यशाला : गलकोट निर्माणको आधार

2020, Feb 10

गलकोट अन्तरास्ट्रिय मूर्तिकला कार्यशाला : गलकोट निर्माणको आधार

गलकोट अन्तरास्ट्रिय मूर्तिकला कार्यशाला : गलकोट निर्माणको आधार

 विजय खत्री

भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा कलाको रूपले गलकोट सम्पन्न नगरपालिकाका रूपमा परिचित छ । यसको वैभवपूर्ण ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्नु आजको प्रमुख आवश्यकता हो । बागलुङको गलकोट राजधानी काठमाडौंदेखि करिब ३१७ किलोमिटर मात्रै दुरीमा रहेता पनि पर्यटक र पर्यटन व्यवसायीको नजरमा पर्न सकिरहेको छैन् ।
प्रकृतिको अनुपम उपहारको रूपमा गलकोट रहे पनि यसको उचित प्रचार प्रसारको कमीले यो क्षेत्र ओझेलमा परिरहेको छ । प्रकृतिलाई सौन्दर्यलाई नबिगारीकन कलाको माध्यमबाट गलकोट चिनाउने उद्देश्यसहित गलकोट नगरपालिका ५ टेउवामा यही फागुन ५ गतेदेखि २१ गतेसम्म ११ देशका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त १५ जना मूर्तिकारले मूर्ति बनाउने भएका छन् ।

सहभागी हुने देश र कलाकारः
जुनिचिरो सुगिमोतो जापान
बेतिनो फ्रान्सेनी इटाली
तानिया प्रिमेन्जर इजरायल
जेभियर गोन्जालेज फ्रान्स
ल्युडमाइला माइस्को युक्रेन
लिन लि जेन ताइवान चीन
जुली ग्लास्पी क्यानडा
टुटु पटनायक भारत
ल्यु याङ्ग चीन
जर्ज लइज सोडर, ब्राजिल
प्रवीणकुमार श्रेष्ठ नेपाल
ओम खत्री नेपाल
राजु पिठाकोटे नेपाल
बुद्ध थारू नेपाल
राजन काफ्ले नेपाल

  

ललितकलाका विभिन्न विधामध्ये मूर्तिकला असाध्यै गाह्रो, निकै समय लिने, धेरै जोखिम र खर्चिलो विधा हो । त्यसैले यस विधामा लाग्ने इच्छा, चाहना हुँदाहुँदै पनि मन मारेर अन्य विधातर्फ लाग्ने विद्यार्थी धेरै छन् । तिनै चुनौतीलाई चिर्दै रमाउँदै गरेका मूर्तिकारले सिर्जना गरेका कलाकृति सयौँ वर्षसम्म रहने भएकाले यसको आकर्षण विशेष रहँदै आएको छ । विगतमा नेपालमा मूर्तिकला विधामै लाग्छु भनी अठोट गर्ने कलाकारलाई सहज वातावरण थिएन । मूर्ति बनाउने शैली सिकाउने व्यक्ति थिएन, आवश्यक औजारको कमी थियो । शिक्षण संस्था निकै कम थिए । अहिले जसरी मूर्तिकला कार्यशालाको आयोजना गर्ने संस्था, व्यक्ति थिएनन्, आफूले गरेको कलालाई देखाउने प्रदर्शनी हल कमै थिए । कला कलापारखीको अभाव थियो तर आज पहिलेको तुलनामा मूर्तिकलाले विकासमा निकै ठूलो फड्को मारेको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमार्फत पछिल्लो समय कलाका विविध गतिविधि भइरहेका छन् । आधुनिक चित्रकला विभाग, मूर्तिकला विभाग, परम्परागत शिल्पकला विभाग, लोककला विभाग, हस्तकला विभाग र वास्तुकला तथा अन्य सिर्जनात्मककला विभाग गरी जम्मा छ वटा विभाग रहेको प्रतिष्ठानले यी विभागमार्फत कला गतिविधि गर्दै आएका छन् । त्यसैअन्तर्गत मूर्तिकला विभागले कार्यशाला, प्रदर्शनी, पुस्तक प्रकाशन, अध्ययन अनुसन्धान, प्रशिक्षण लगायतका काम गर्दै आइरहेको छ । छोटो समयमा यसले नेपाली कलाको विकासमा काम गरिरहेको छ । तीन कार्यकाल गुजारेको प्रतिष्ठानको पहिलो कार्यकालबाटै मूर्तिकला कार्यशाला आयोजना गर्न थालेको हो । गलकोट कार्यशालाको संयोजकसमेत रहेका प्राज्ञ ओम खत्री पहिलो, प्राज्ञ धनबहादुर याख्खा दोस्रो तथा पछिल्लो समय प्राज्ञ लालकाजी लामा मूर्तिकला विभाग प्रमुख छन् ।

गलकोटमा निकै लामो प्रयास र मिहिनेतपछि अन्तर्राष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला आयोजना हुँदैछ । यस कार्यशालाका योजनाकार एवं कार्यशाला संयोजक प्राज्ञ ओम खत्रीले मूर्तिकलामार्फत देशलाई विभिन्न देशहरूमा चिनाउनेदेखि लिएर नेपाली मूर्तिकलाको विकासमा ठूलो टेवा पु¥याएका छन् । देश विदेशमा नेपाललाई चिनाएका पश्चात् आफ्नो ठाउँमा मूर्तिकला आयोजना गर्न उचित समयको प्रतिक्षामा थिए । सोही उद्देश्यलाई साकार पार्न गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राना सक्रियरूपमा अगाडि बढ्न वचनबद्ध रहेको, गलकोट कला प्रतिष्ठानका समिति सदस्यहरू, सरकारी, गैरसरकारी तथा व्यक्तिहरु पनि सक्रिय भएकाले यस किसिमको कार्यशाला सम्भव भएको हो । कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने भएका छन् ।

नेपालका विभिन्न ठाउँहरू काठमाडौं, बुटवल, मकवानपुर, पोखरा, चितवन, इटहरी आदि जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला सञ्चालन भएका छन् । ती सबै कार्यशालाको आ–आफ्नै विशेषता रहेका छन् । गलकोटमा हुने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाले पनि त्यस्तै छुट्टै विशेषता बोकेको छ । जहाँ सहभागी कलाकारलाई विदेशमा हुने कार्यशालामा जस्तै सेवासुविधा तथा वातावरण उपलब्ध गराउनुका साथै स्थानीय खानपान, भेषभूषा, रहनसहन, भाषा, धर्म, संस्कृति, इतिहासको मिठो स्वाद पस्किने छ । जसले गर्दा सहभागी कलाकारले गलकोटलाई माया गरी कहिल्यै बिर्सन सक्ने छैनन् । यसको प्रत्यक्ष फाइदा गलकोटबासीलाई हुनेछ ।

कार्यशालामा सहभागी कलाकारले १५ दिनसम्म अनवरतरूपमा मूर्ति सिर्जना गर्ने आयोजकले जनाएको छ । यहाँ मूर्त तथा अमूर्त मूर्ति बन्नेछन् । मूर्तिमा विभिन्न देशका कला, संस्कृति, वर्तमान अवस्था, जीवनशैली आदि झल्किने छन् । यहाँ बन्ने मूर्तिहरू एक खुला संग्रहालयको रूपमा रहने भएकोले यसको महत्व विशिष्ट रहने विश्वास लिन सकिन्छ । साथै कला अनुसन्धाताका लागि समेत यो स्थान महत्वपूर्ण रहने आशा राख्न सकिन्छ ।

एकातर्फ यो कार्यशालाले देशको शिर उँचो राख्दछ भने अर्कोतर्फ गलकोटमा ललितकलाको जग बसाउने छ । घरपरिवार, समाज, समुदाय, विद्यालयमार्फत पनि कलाको बारेमा जानकारी तथा प्रशिक्षण नहुँदा कति जनाको बालमस्तिस्कमा कलाका झिल्का भए पनि बल्न पाएका छैनन् । यस कार्यशालाले ती स–साना झिल्कालाई ज्वालाको रूपमा परिणत हुने वातावरण सिर्जना गर्दछ । कार्यशाला अवधिभर कलापारखी, विद्यार्थी, शिक्षक, बुद्धिजीवी, समाजसेवीलाई भ्रमणको लागि खुला गरिने आयोजकको भनाइ छ । यसले कलाकारसँग आफूलाई मनमा लागेको विषयमा प्रश्न गर्न पाउने अवसर मिल्ने भएकाले यस कार्यशाला गलकोटको कला विकासमा कोशेढुंगा सावित हुने विश्वास लिन सकिन्छ ।

पर्यटनको हिसाबले नेपाल निकै आकर्षक मुलुक हो । एक आर्थिक वर्षमा नेपालमा पाँचदेखि सात लाख विदेशी पर्यटक घुम्नको लागि आउने गरेको विगतका तथ्यांकले देखाउँदछ । जसमा ८०–८५ प्रतिशत पर्यटक पर्यटकीय क्षेत्र पोखरामा भ्रमणको लागि पुग्ने गरेका छन् । पोखराबाट गलकोट करिब ११७ किमीमात्रै रहेको कारण केही कसरत गर्दा मात्रै पर्यटकहरू भित्र्याउन सहज हुने देखिन्छ । पर्यटन बोर्डको तथ्यांक अनुसार एक जना पर्यटकले दिनमा सरदर २५सयदेखि तीन हजारसम्म खर्च गर्ने गरेको पाइन्छ । गलकोटमा एक आ.व.मा जम्मा सय जना विदेशी पर्यटक भित्र्याउन सकेमात्रै पनि करिब ३० लाख रूपैयाँ भित्रिन्छ । यसका लागि पनि यस अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भने नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई पनि योगदान मिल्नेछ ।

कार्यशालामा नेपालबाहेक दश देशका कलाकारहरू सहभागी रहने छन् । उनीहरुले सिर्जना गरेका कलाकृति कार्यशाला स्थलमा नै राखिने भएको छ । कार्यशाला भइरहँदा र कार्यशालापश्चात पनि उनीहरुले आफ्नो देशमा गई कार्यशालामा मूर्ति सिर्जना भएको, देशको वातावरण लगायतका प्रशंसाहरू आ–आफ्नो देशबाट हुँदा मात्रै पनि गलकोटको राम्रो प्रचार प्रसार हुन गई नेपाल आउने पर्यटकमा वृद्धि हुने र पर्यटक गलकोटसम्म आउने अपेक्षा गर्न सकिन्छ ।

यसरी यस अन्तर्राष्ट्रिय कार्यशालाले गलकोटेको आम्दानीको स्रोत बढाउने छ भने अर्कोतर्फ स्थानीय स्तरमा उत्पादित वस्तुले उचित मूल्य पाउने छन् । यसले स्थानीय किसानको मनोबल बढाउनुका साथै उत्पादनमा वृद्धि हुन्छ । उत्पादनमा वृद्धि गर्न सकिँदा त्यसको प्रत्यक्ष तथा परोक्ष रूपमा गलकोट नगरपालिकाको पनि आम्दानी वृद्धि हुन जान्छ । सोही आम्दानीलाई गलकोटको विकासका लागि नै खर्च गर्ने हो भने एक नमूना नगरपालिका बन्नुको साथै पर्यटकीय नगरीको रूपमा स्थापित हुने कुरामा दुईमत छैन ।

अन्त्यमा, गलकोटलाई सुन्दर कलानगरीको रूपमा चिनाउन प्रयासमा रहने आयोजक, सहआयोजक, सहभागी कलाकार, सरकारी गैरसरकारी संघसंस्था, आर्थिक, भौतिक, शैक्षिक, बौद्धिक सहयोग गर्ने सम्पूर्णको मिहिनेतले कार्यशाला सफल भई उद्देश्य हासिल हुने विश्वास लिन सकिन्छ ।

More Blogs